पर्सा। वीरगञ्ज कारागार कार्यालय पर्साबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कात्तिक २६ गते राति करिब ८ बजे वीरगञ्ज कारागारको प्यारोल शाखाको पर्खाल छेउबाट कैदी फरार भएको सूचना प्राप्त भएको थियो।
फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४ सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा रहेका छन्। उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
कैदी फरार भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।