भारतबाट नेपाल भित्रिँदै गरेको सिटी सफारीबाट ठूलो परिमाणमा लागूऔषध बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, कात्तिक २९ — सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित एउटा सिटी सफारी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार दिउँसो करिब २:२० बजे हरिनगर गाउँपालिका–७ खानचोस्थित प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल नेपाल, बीओपी घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले उक्त सिटी सफारी नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १०५२ नम्बरको सिटी सफारी प्रहरी टोलीलाई देख्नासाथ चालकसहित संलग्न व्यक्तिहरू सवारी छाडेर फरार भएका थिए।

प्रहरीले सिटी सफारी जाँच गर्दा Spaspain Pro नामक १५ हजार पिस ट्याब्लेट र Tramol 50 नामक ७ हजार ४७० पिस क्याप्सुल फेला पारेको जनाएको छ। बरामद लागूऔषध र सिटी सफारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।

फरार चालक तथा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।