सप्तरी, कार्तिक २९ गते ।
कैलाश माझी : सूर्य उपासनाको महापर्व छठअन्तर्गत आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको मुख्य दिन आज श्रद्धालुहरूले नदी, पोखरी, तलाउ तथा जलाशयका घाटमा पुगेर भक्तिपूर्वक सूर्यदेवलाई अर्घ्य दिएका हुन्।
छठ पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू दिनभरि उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। बाँसका ढाकी, सुपली, माटाका भाँडा तथा केराको घरीमा सजाइएका ठेकुवा, भुसुवा, नरिवल, उखु, केरा, स्याउलगायतका प्रसाद र पूजासामग्री लिएर श्रद्धालुहरू घाटमा पुगेका थिए।
विशेषगरी सप्तरीको सप्तकोशी नगरपालिका–११ स्थित भगनीको कमलदहमा पनि छठ पर्वको धार्मिक उल्लास देखिएको छ। व्रतालु तथा श्रद्धालुहरूले परम्परागत विधिअनुसार पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। घाटमा परिवारका सदस्य तथा स्थानीयवासीको सहभागिताले पर्वको रौनक थपिएको छ।
छठ पर्वमा सूर्यदेवलाई जीवन, ऊर्जा र प्रकाशको स्रोतका रूपमा पूजा गरिन्छ भने छठी मातासँग परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तानको कल्याण र समृद्धिको कामना गरिन्छ। नहाय–खायबाट सुरु भएको पर्वमा खरना विधि सम्पन्न गरी आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो।
छठ पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुहरूले विधिवत् रूपमा व्रत समापन गर्नेछन्।
आस्था, अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले धार्मिक तथा सांस्कृतिक एकता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देशसमेत दिँदै आएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।