विदेशबाट फर्किने नेपालीलाई प्रलोभनमा परी सुन नल्याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १९।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेषगरी श्रम स्वीकृति (लेबर भिसा) लिएर विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

कार्यालयले आइतबार सार्वजनिक गरेको सूचनामा पछिल्लो समय केही अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाई नेपाली नागरिकलाई सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन लगाउने गरेको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार यस्ता वस्तु बोकेर नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच हुँदा सम्बन्धित व्यक्तिहरू अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ पर्ने र कानुनी कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको छ।

विमानस्थल सुरक्षा कार्यालयले कुनै पनि अपरिचित व्यक्तिबाट दिइएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन, अरूको झोला वा प्याकेट वास्तविक विवरण नबुझी जिम्मा नलिन तथा खरिद बिल वा अन्य कागजात भएको भन्दै कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको छ।

प्रहरीले "सचेत बनौं, सुरक्षित बनौं, दलालको प्रलोभनमा नपरौं" भन्ने सन्देश दिँदै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनको जानकारी पाए तत्काल सम्बन्धित सुरक्षा निकायलाई सूचित गर्न सबै नेपाली नागरिकसँग अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।