कप्तानगञ्ज घटनाका घाइते रविन्द्र मेहताको उपचारकै क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा, साउन १९।

कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गम्भीर घाइते भई उपचाररत रहेका २२ वर्षीय रविन्द्र मेहताको निधन भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा रविन्द्र मेहताको असामयिक निधन भएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी अपिलमा दिवंगत रविन्द्र मेहताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

प्रशासनले यस घटनाबाट प्रभावित परिवारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै, यसअघि घटनामा मृत्यु भएका व्यक्तिका परिवारसँग माननीय गृहमन्त्रीको उपस्थितिमा भएको सम्झौताअनुसार रविन्द्र मेहताको परिवारलाई पनि सोही प्रकृतिको राहत तथा सहायता उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

साथै, प्रशासनले शोकको यस घडीमा सबै पक्षलाई संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै परिस्थितिलाई थप तनावपूर्ण नबनाउन सबैसँग हार्दिक अपिल गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।