काठमाडौं, साउन १८।
प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग विवाद भएको भन्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सांसद पाण्डेले सडक चौडा गर्ने उद्देश्यले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भए पनि त्यो सम्बन्धित नेपाली सेनाको टोलीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलो भएका कारण मात्र भएको स्पष्ट पारेका छन्।
उनले त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी छलफल र समन्वय भएको तथा नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।
सांसद पाण्डेले उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमार्फत उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको गौरवशाली संस्था भएको उल्लेख गर्दै नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन्।
साथै, उनले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन्।
सांसद पाण्डेले राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई नै आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।