ठेक्का मिलाइदिएबापत १ करोड ७१ लाख घुस लिएको अख्तियारको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,साउन ५।

कैलाश माझी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा ठेक्का स्वीकृति, रेखदेख तथा भुक्तानीलगायतका जिम्मेवारीमा रहँदा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी ठेक्का दिलाउन तथा ठेक्कासम्बन्धी कार्यमा सहजीकरण गरेबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालसमेतबाट १ करोड ७१ लाख रुपैयाँ घुस/रिसवत लिएको अनुसन्धानबाट पुष्टि भएको दाबी गरिएको छ।

आयोगका अनुसार घुस/रिसवतबाट प्राप्त रकमको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने उद्देश्यले अधिकारीले आफ्नी श्रीमतीको नाममा ललितपुरस्थित १३ आना जग्गा खरिद गरेका थिए।

उक्त जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ थैली रकम कायम गरिएको भए पनि वास्तविक कारोबार भएको रकमलाई बदनियतपूर्वक लुकाई सरकारी लिखतमा उल्लेखित रकम तथा कारोबारको स्रोतलाई वैधानिक देखाउने उद्देश्यले आफू र श्रीमतीको बैंक खाताबाट ९१ लाख रुपैयाँ कारोबार गरेको देखाइएको अख्तियारको दाबी छ।

अख्तियारले थैली रकमबाहेकको थप १ करोड ७१ लाख रुपैयाँ अधिकारीले नागरिक उड्डयन प्राधिकरण तथा त्यसअन्तर्गतका ठेक्कापट्टामा सहजीकरण गरेबापत कम्पनी तथा कम्पनीका सञ्चालकबाट घुस/रिसवतका रूपमा प्राप्त गरी बैंक खातामा दाखिला गराएको अनुसन्धानबाट खुलेको जनाएको छ।

आयोगले उक्त रकमको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको निष्कर्ष निकालेको छ।

अख्तियारका अनुसार अधिकारीले घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको र सोही भ्रष्टाचारसम्बन्धी कसुरलाई सम्बद्ध कसुर (Predicate Offence) मानी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरसमेत गरेको पुष्टि भएको छ।

सोही आधारमा आयोगले अधिकारीसहित सम्बन्धित अन्य व्यक्तिहरूविरुद्ध कानुनबमोजिम सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।