सुकुना माविका विद्यार्थीमाथि दुर्व्यवहारको आरोपमा शिक्षकसहित चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ,साउन ५।

कैलाश माझी : मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि शिक्षक तथा कर्मचारीबाट दुर्व्यवहार भएको भनिएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी अनुसन्धानका क्रममा घटनामा संलग्न देखिएका सुन्दरहरैँचा नगरपालिका–१० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नं. २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ का ३५ वर्षीय अविरल मास्केलाई साउन ४ गते बिहान १० बजे नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानकै क्रममा घटनामा थप एक जना संलग्न रहेको खुलेपछि झापाको बुद्धशान्ति गाउँपालिका–७ का ३९ वर्षीय भीमप्रसाद नेपाललाई साउन ५ गते प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा प्रदीप भट्टराई विद्यालयका सवारी चालक, किशोरलाल गच्छदार विज्ञान विषयका शिक्षक, अविरल मास्के लेखापाल र भीमप्रसाद नेपाल नृत्य प्रशिक्षक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि बालबालिकाविरुद्धको कसूर सम्बन्धी अनुसन्धान भइरहेको छ। उनीहरूलाई मोरङ जिल्ला अदालत, विराटनगरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।