सप्तरीमा भन्सार छली ल्याइएका करिब ४ लाख रुपैयाँका सामानसहित तीन मोटरसाइकल बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज,साउन ५।

कैलाश माझी : सप्तरी प्रहरीले भन्सार छली तथा चोरी पैठारी गरी भारतबाट ल्याइएका विभिन्न किराना सामान र कपडासहित तीन थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार साँझ करिब ७ः३० बजे राजविराज नगरपालिका–६ स्थित बागेश्वरी मन्दिर क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देखेपछि सामान बोकेर आएका व्यक्तिहरूले मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले बेवारिसे अवस्थामा रहेका तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा बोराभित्र विभिन्न प्रकारका किराना सामान तथा कपडाहरू फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमा भारतीय नम्बर प्लेटका BR 32 AA 8847 नम्बरको हिरो ग्ल्यामर, BR 32 B 9426 नम्बरको डिस्कभर र BR 50 F 4371 नम्बरको TVS स्पोर्ट रहेका छन्।

ती मोटरसाइकलमा लोड गरिएका विभिन्न किराना सामान तथा कपडाको अनुमानित मूल्य ३ लाख ९६ हजार ५ सय ७५ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि प्रहरीले बिहीबार राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरू भने प्रहरी टोलीलाई देखेपछि फरार भएकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले उक्त विवरणसहितको प्रेस विज्ञप्ति जारी गरेका हुन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।