काठमाडौं,साउन ५ ।
कैलाश माझी : स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, झन्झट तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारले नागरिकलाई हेलो सरकारमा गुनासो दर्ता गराउन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सूचनामा स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, झन्झट, निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार तथा बेथितिलगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा गुनासो सुनुवाइका विभिन्न संयन्त्रमार्फत प्राप्त भइरहेको जनाएको छ।
प्राप्त गुनासोलाई नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
सरकारले स्थानीय तहबाट सेवा लिने क्रममा अनावश्यक ढिलासुस्ती वा झन्झट व्यहोर्नुपरेमा तथा विकास निर्माणका काममा अनियमितता, भ्रष्टाचार वा अन्य प्रकारका बेथिति देखिएमा सम्बन्धित नागरिकले गुनासो दर्ता गराउन सक्ने जनाएको छ।
नागरिकले हेलो सरकारको विद्युतीय प्रणालीमार्फत अनलाइन गुनासो दर्ता गर्न सक्नेछन्। त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११११, मोबाइल नम्बर ९८५११४५०४५ तथा ह्वाट्सएप नम्बर ९८५११४५०४५ मार्फत समेत गुनासो तथा उजुरी पठाउन सकिनेछ।
सरकारले सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या तथा स्थानीय तहमा हुने अनियमितता र बेथितिसम्बन्धी गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गरी सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।