सुनसरी घटनापछि सप्तरीमा प्रशासनको कडा निगरानी, भ्रामक सूचना फैलाउने १० जना पहिचान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, साउन १८।

कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते हिन्दू–मुस्लिम समुदायबीच भएको झडपपछि उत्पन्न संवेदनशील परिस्थितिलाई लिएर सप्तरीमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, उत्तेजनात्मक भिडियो तथा अडियो सामग्री प्रसारण गर्ने र विरोध प्रदर्शनका क्रममा भीडलाई उक्साउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय सप्तरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा गठन गरिएको Joint Operation Cell ले सामाजिक सञ्जाल, विरोध प्रदर्शन तथा सार्वजनिक गतिविधिको निगरानीका क्रममा हालसम्म १० जना व्यक्तिको पहिचान गरेको जनाएको छ। ती व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान, सोधपुछ तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार पहिचान भएका १० जनामध्ये ७ जनालाई सामाजिक सञ्जालमा राखिएका अडियो, भिडियो तथा अन्य भ्रामक सामग्री हटाउन लगाइएको छ। त्यस्तै ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएकोमा दुई जनालाई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइपछि रिहा गरिएको छ भने एक जना हाल जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रशासनले पहिचान गरेका व्यक्तिहरूमध्ये छिन्नमस्ता गाउँपालिका–३ का आनन्द चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ निवासी रामकुमार महतो, राजविराज नगरपालिका–६ का विशाल चौधरी, राजविराज–२ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक आशिष यादव, सुरुङ्गा नगरपालिका–१० का दिपेश कुमार यादव लगायत रहेका छन्। त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–६ निवासी असिम अन्सारी, जो हाल वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका छन्, तथा राजविराज–७ निवासी सिनु साह, जो हाल टर्कीमा रहेका छन्, उनीहरूले सामाजिक सञ्जालमा राखेका सामग्री हटाइएको प्रशासनले जनाएको छ।

यसैक्रममा साउन १६ गते तिरहुत गाउँपालिका–४ डिमन टोल निवासी २३ वर्षीय जफिर मियाँलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि साउन १७ गते रिहा गरिएको थियो। त्यस्तै राजविराज नगरपालिका–६ निवासी २० वर्षीय छोटु कुमार मेस्तरलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ।

यस्तै, साउन १५ गते रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको विरोध प्रदर्शनका क्रममा भीडलाई उत्तेजित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा मुकेश यादवलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइपछि साउन १६ गते रिहा गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भावमा खलल पुर्‍याउने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने, भ्रामक सूचना सम्प्रेषण गर्ने वा सार्वजनिक शान्ति भंग गर्ने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही जारी रहने स्पष्ट गरेको छ। साथै सामाजिक सञ्जाल प्रयोग गर्दा संयमता अपनाउन, अपुष्ट तथा उत्तेजनात्मक सामग्री प्रसारण नगर्न र शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबैमा प्रशासनले पुनः आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।