सर्लाही, साउन १८।
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडिबाट करिब १०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको BR 09 M 3766 नम्बरको भारतीय कारलाई शंकाको आधारमा रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा प्याक गरिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्र निवासी २६ वर्षीय दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ। दीपक कुमार महतो कार चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, भारतीय नम्बर प्लेटको कार तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।