राजविराज, साउन १८।
कैलाश माझी : सप्तरी जिल्लाको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार जारी गरेको सूचनाअनुसार जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा जिल्ला सुरक्षा समितिको साउन १८ गते बसेको बैठकको निर्णयका आधारमा साउन १८ गते बिहान १०:०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो।
यसअघि जिल्लामा विकसित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा परिस्थिति सामान्यतर्फ उन्मुख देखिएकाले उक्त आदेश हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा जिल्लावासीलाई शान्ति, सामाजिक सद्भाव र कानुनी व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ। प्रशासनले सबै नागरिकलाई संयमित रहँदै सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग पुर्याउन समेत अनुरोध गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।