राजविराज, साउन १८।
कैलाश माझी : सप्तरी प्रहरीले लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा खडक नगरपालिका–४ पन्सेरा टोलका एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा खडक नगरपालिका–४ पन्सेरा टोल निवासी २८ वर्षीय राजेश कुमार चौधरी रहेका छन्।
प्रहरीले गोप्य सूचनाको आधारमा साउन १६ गते दिउँसो करिब ३:३० बजे इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले चौधरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा उनले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा रहेको स्टिलको सानो बट्टाभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने ८.४८० ग्राम (आठ ग्राम चार सय असी मिलिग्राम) गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा प्रतिवादीको पछाडिको खल्तीबाट नगद ५ हजार ४ सय रुपैयाँ, कोठाबाट तीन थान मोबाइल फोन तथा घरअगाडि पार्किङ गरिएको प्र.३–०२–०१२ प ३५६२ नम्बरको यामाहा MT मोटरसाइकल समेत बरामद गरिएको छ।
बरामद गरिएको पदार्थलाई डिजिटल तौल मेसिनबाट तौल गर्दा ८.४८० ग्राम रहेको पुष्टि भएपछि प्रतिवादीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामा लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।