सामुदायिक वनमा लुकाइराखिएका ३२ नाल भरुवा बन्दुक फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्यूठान, साउन १८।

प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा तिनका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको गस्ती टोलीले सामुदायिक वन क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त हतियारहरू फेला पारेको हो।

बरामद गरिएका सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बन्दुकको बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।

प्रहरीले बरामद गरिएका सबै हतियार तथा पार्टपुर्जाहरू नियन्त्रणमा लिएको जनाएको छ। ती हतियार कसले, किन र कहिले वन क्षेत्रमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा हतियारको स्रोत खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।