सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द हुँदै, असोज १९ देखि नयाँ दर लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज १६ गते ।

कैलाश माझी : इन्टरनेट सेवा प्रदायक संघ नेपाल (Internet Service Provider Association of Nepal–ISPAN) ले आगामी २०८३ असोज १९ गतेदेखि सस्तो मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ हुने जनाएको छ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालले २०८३ असोज १६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्ला वर्षहरूमा भएको मूल्यवृद्धि, इन्धनको बढ्दो मूल्य, फाइबरको मूल्य वृद्धि, उच्च मुद्रास्फीति तथा एआईको तीव्र विस्तारका कारण इलेक्ट्रोनिक सामग्री र चिपसेटको मूल्य बढेको जनाएको छ।

यी लगायतका विभिन्न कारणले इन्टरनेट सेवा प्रदायकहरूको सञ्चालन खर्च बढ्दै गएको र सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको संघको भनाइ छ। त्यसैले हाल उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम स्पीडका प्याकेजहरू असोज १९ गते सोमबारदेखि उपलब्ध गराउन नसक्ने संघले जनाएको हो।

संघले विगत १२ वर्षमा नेपालमा इन्टरनेटको पहुँच र प्रभाव उल्लेख्य रूपमा विस्तार भएको उल्लेख गर्दै फिक्स्ड ब्रोडब्यान्डको घनत्व तथा पहुँचमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको दाबी गरेको छ। साथै, नेपालमा इन्टरनेट सेवा विश्वकै सस्तोमध्ये एक रहेको पनि संघको भनाइ छ।

कोरोना महामारीदेखि भोटेकोशी बाढीसम्मका विभिन्न परिस्थितिमा इन्टरनेट सेवा प्रदायकहरूले निरन्तर अत्यावश्यक इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको संघले जनाएको छ।

इन्टरनेट सेवा प्रदायकहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको लक्ष्यमा निरन्तर लाग्न आग्रह गर्दै संघले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा ग्राहकले सजिलै देख्ने गरी राख्न निर्देशन दिएको छ।

त्यस्तै, इन्टरनेट सेवा लिने ग्राहकहरूलाई अनिवार्य रूपमा VAT बिल लिन समेत संघले आग्रह गरेको छ।

सस्तो तथा कम स्पीडका प्याकेज उपलब्ध गराउन नसक्ने निर्णयबाट ग्राहकलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले आगामी दिनमा पनि ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।