लोककल्याणकारी विज्ञापनको कार्यविधि तत्काल खारेज गर्न महासंघको जोडदार माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले २०८३ असोज १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, विज्ञापन बोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागतयोग्य भए पनि महासंघका माग पूर्ण रूपमा सम्बोधन नभएको भन्दै आपत्ति जनाएको हो।

महासंघले सरोकारवाला पक्षसँग पर्याप्त परामर्श नगरी छापामाध्यमलाई असर पार्ने गरी निर्णय गरिएको आरोप लगाउँदै छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ तत्काल खारेज गर्न माग गरेको छ।

महासंघले सरोकारवाला पक्षसँगको सहमतिका आधारमा मात्र नयाँ व्यवस्था लागू गर्नुपर्ने बताएको छ। साथै, प्रेस काउन्सिल नेपालले राष्ट्रिय, प्रदेश र स्थानीय तहका पत्रपत्रिकाले प्रकाशन गर्ने लोककल्याणकारी विज्ञापनको रकम भुक्तानीमा पाँच सय रुपैयाँको मात्र अन्तर कायम गर्न तथा रकम दोब्बर बनाउन पटक–पटक गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न पनि महासंघले माग गरेको छ।

महासंघले सूचना तथा सञ्चार मन्त्रालयले वार्ता, संवाद र सहमतिका आधारमा आफ्ना माग सम्बोधन गर्ने अपेक्षा राखेको जनाएको छ।

महासंघले माग सम्बोधन नभएमा आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।