रौतहटमा मदिराका बोतलमा टाँस्ने १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सरमुजवाका अनुसार, २०८३ असोज १६ गते खटिएको गाडी मोबाइल टोलीले रौतहटको बौधिमाई नगरपालिका–७, बंकुल भन्सार कार्यालय पछाडिको धानबारी क्षेत्रबाट उक्त स्टिकर बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद स्टिकरहरू नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमका ५० यूपी १८० एमएल साइजका मदिराका बोतलमा टाँस गर्ने प्रकृतिका रहेका छन्। प्रहरीले ६ रोलमा रहेका १ लाख २० हजार वटा स्टिकर बरामद गरेको जनाएको छ।

बरामद स्टिकरहरू आवश्यक कारबाही तथा व्यवस्थापनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, गौर भन्सार कार्यालय, रौतहटका अनुसार बरामद भएका स्टिकर प्रयोग भएको अवस्थामा राज्यलाई १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी हुन सक्ने अवस्था रहेको बुझिएको छ।

घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।