सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते, वीरगन्ज रेफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही — सर्लाहीको बरहथवा नगरपालिका–८ गर्जहा पुलस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

प्राप्त विवरणअनुसार हिजो राति करिब ११:५० बजे बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

बरहथवा नगरपालिका–८ निवासी २२ वर्षीय रौशन मण्डल र ३२ वर्षीय रघुनाथ मण्डल घाइते भएका छन्। दुवै जनाको अवस्था गम्भीर रहेको र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनीहरूलाई नगर अस्पताल बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

घटनास्थलमा हेलमेट र चप्पल फेला परे पनि दुर्घटनामा संलग्न मोटरसाइकल भने फेला परेको छैन। साथै, मोटरसाइकल चालकको पहिचानसमेत खुल्न सकेको छैन।

प्रारम्भिक विवरणअनुसार दुवै घाइतेले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल कसले चलाएको थियो र दुर्घटनापछि मोटरसाइकल कहाँ गयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।