सरकारले तोकेको मूल्यभन्दा कममा धान किन्नेहरू निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी,२० जेठ ।

कैलाश माझी : जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा धान खरिद नगर्न सबै खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराएको छ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी सूचनामा नेपाल सरकारले कृषकहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा बजारमा धानको मूल्य स्थिर राख्ने उद्देश्यले आर्थिक वर्ष २०८३/०८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको उल्लेख गरिएको छ।

सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको छ।

तर पछिल्लो समय केही व्यापारी तथा खरिदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरिद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सूचनामा “न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२” को पूर्ण कार्यान्वयन गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ। साथै स्थानीय तहहरूलाई समेत उक्त निर्देशिकाअनुसार कृषक, व्यापारी तथा सरोकारवालामाझ सूचना प्रवाह गर्ने, खरिद प्रक्रियामा सहजीकरण गर्ने, अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्देशिका विपरीत कार्य गर्ने तथा कृषकहरूलाई न्यून मूल्य दिई ठगी गर्ने खरिदकर्तामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

कृषकहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै कृषि क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले तोकेको समर्थन मूल्यको पूर्ण कार्यान्वयन आवश्यक रहेको प्रशासनको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।