राजविराज,२० जेठ ।
कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई मिति २०८३ जेठ २० गते जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–२ का राजेश साह, डाक्नेश्वरी–७ कटैयाका गोपी मुखिया, डाक्नेश्वरी–६ कबिलासाका गफुर मियाँ, डाक्नेश्वरी–७ का चौधरी यादव, डाक्नेश्वरी–४ पातोका भुवनेश्वर चौधरी तथा सरदा महादेवा गाउँपालिका–३ की सुकनी देवी रहेका छन्।
उनीहरूमध्ये अधिकांश कुटपिट मुद्दाका फरार प्रतिवादी हुन् भने सुकनी देवी लेनदेन सम्बन्धी मुद्दामा दोषी ठहर भएकी थिइन्। पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतबाट तोकिएको जम्मा १ वर्ष ३ महिनाको कैद सजाय तथा ८ हजार २ सय ७५ रुपैयाँ जरिवाना रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।
प्रहरी निरीक्षक विजय कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतको फैसला कार्यान्वयनमा कुनै सम्झौता नगरी कानुनको शासन स्थापित गर्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।