सप्तरी, जेठ १९ ।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ११ अन्तर्गत कमलटोल क्षेत्रमा सडक विस्तार कार्य अन्तर्गत मंगलबार जेसीबी परिचालन गरी ६ मिटर चौडाइको सडक क्षेत्र खाली गरिएको छ।
वडा कार्यालयले यसअघि जारी गरेको सूचनाअनुसार स्थानीय टोल विकास संस्था, भद्रभलादमी तथा सरोकारवालाहरूको उपस्थितिमा सडक क्षेत्रभित्र रहेका अवरोधहरू हटाउने कार्य सम्पन्न गरिएको हो। वडा कार्यालयका अनुसार सडक क्षेत्रभित्र परेका रुख–विरुवा तथा अन्य अवरोध हटाउँदै सडकको निर्धारित क्षेत्र खाली गरिएको छ।
वडा अध्यक्ष डोलेश्वर खडगाले सार्वजनिक सडकलाई अतिक्रमणमुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिँदै स्थानीयको सहयोगमा कार्य सम्पन्न भएको बताए। उनका अनुसार कमलटोल क्षेत्रमा लामो समयदेखि साँघुरो सडकका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो।
मंगलबार गरिएको कार्यबाट सडकको ६ मिटर चौडाइ कायम हुने गरी क्षेत्र खाली गरिएको वडा कार्यालयले जनाएको छ। यसले स्थानीय बासिन्दालाई सहज आवागमन, आपतकालीन सेवाको पहुँच तथा भविष्यमा हुने पूर्वाधार विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
स्थानीयवासी, टोल विकास संस्थाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त कार्यलाई वडा कार्यालयले सार्वजनिक हितका लागि गरिएको महत्वपूर्ण कदमका रूपमा लिएको छ। साथै आगामी दिनमा पनि सार्वजनिक सडक, नाला तथा अन्य संरचनाको संरक्षण र व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेको वडा कार्यालयले जनाएको छ।
कमलटोल क्षेत्रमा सडक विस्तार कार्य सम्पन्न भएपछि स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको साँघुरो बाटोको समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र योजनाबद्ध विकासका लागि स्थानीय तहले आवश्यक कदम चाल्न थालेको भन्दै स्थानीयले समेत सडक विस्तार कार्यको स्वागत गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।