चोरीको मोटरसाइकल लिएर भाग्दै गरेका व्यक्ति सप्तरीमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी२१ जेठ ।

कैलाश माझी : सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चोरी भएको मोटरसाइकलसहित एक जना प्रतिवादीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार २०८३ जेठ २० गते साँझ करिब ७ बजे जिल्लाको बोदेबर्साइन नगरपालिका–५ क्षेत्रमा पार्किङ गरी राखिएको अस्थायी नम्बर P1-02-0060 भएको Yamaha MT-15 मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल धनीले चोरी भएको जानकारीसहित प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।

खोजतलासकै क्रममा सोही दिन राति करिब ८ बजे बोदेबर्साइन नगरपालिका–५ स्थित भटिन टोल क्षेत्रमा चोरी भएको मोटरसाइकल लिएर भाग्दै गरेका एक व्यक्तिलाई प्रहरीले फेला पारेको थियो। भाग्ने क्रममा मोटरसाइकलबाट लडेर घाइते अवस्थामा रहेका उनलाई नियन्त्रणमा लिई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ निवासी अन्दाजी ३१ वर्षीय हकिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल धनी मो. सदामको जाहेरीका आधारमा चोरी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका प्रतिवादीलाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्की ले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।