काठमाडौं, जेठ २१ ।
कैलाश माझी : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम स्तरको तातो हावाको लहर (हीट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ। साथै कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी र तातो दिन (हट डे) हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार प्रभावित क्षेत्रहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने सम्भावना रहेको छ। यस अवस्थाले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पुर्याउन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुर जिल्लामा पनि गर्मीको प्रभाव बढ्न सक्ने जनाइएको छ।
प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण शरीरको तापक्रम अस्वाभाविक रूपमा बढ्ने, अत्यधिक थकान महसुस हुने, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्।
यस्ता जोखिमबाट बच्न दिउँसोको चर्को घाममा सकेसम्म घरबाहिर ननिस्कन, बाहिर निस्कनै परे छाता प्रयोग गर्न वा टाउको छोप्न, हल्का तथा खुकुलो कपडा लगाउन, प्रशस्त पानी पिउन, कागतीपानी तथा झोलिलो पदार्थ सेवन गर्न र ताजा खानेकुरा खान सुझाव दिइएको छ।
त्यसैगरी खेतबारी तथा बाहिरी काम बिहानको चिसो समयमा वा साँझपख मात्रै गर्न, बालबालिकालाई चर्को घाममा खेल्न नदिन, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतले नागरिकलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्दै मौसम सम्बन्धी सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरेको छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।