मोरङमा १०१ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ,साउन ६।

कैलाश माझी : मोरङको रंगेली नगरपालिका–७ बाट प्रहरीले १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार भारतबाट नेपालमा लागुऔषध बिक्री वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले २०८३ साल साउन ६ गते रंगेली नगरपालिका–७ बाट भारतको अररिया जिल्ला बौकाहा मझरा ठेगाना भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुललाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन तथा भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।