दाङ,साउन ६।
कैलाश माझी : दाङको बंगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले सूचनाका आधारमा जंगल क्षेत्रमा खोजतलास गर्ने क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी जम्मा ११ नाल भरुवा बन्दुक फेला पारेको हो।
बरामद गरिएका सबै भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। बन्दुकहरू कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।