काठमाडौंमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २५ कात्तिक। काठमाडौं उपत्यकामा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै सञ्चालन गरिएका ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा विशेष चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

सवारीसाधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने गतिविधिले सर्वसाधारणको शान्ति तथा सुरक्षामा असर पार्न सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी परिचालन तथा निगरानीलाई प्रभावकारी बनाइएको जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।