सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–११ सेवालुङ चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २६ गते राति ८ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय सन्जुहाङ लिम्बुको घरमा खानतलासी गरेको थियो।
सो क्रममा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ बुङ तास र नगद ५ लाख ९२ हजार ५०० रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१६ जोर सखुवाका ३३ वर्षीय सोम तामाङ, वडा नं. ११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय घरधनी सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, वडा नं. १९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेका छन्।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।