धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरू वन पैदावर, सवारी ज्यान, हातहतियार तथा खरखजाना, कुटपिट, चोरी र लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीलाई कैद सजाय र केहीलाई जरिवाना तोकिएको थियो। उनीहरूमाथि १४ दिनदेखि एक वर्षसम्म कैद तथा १ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना हुने फैसला भएको विवरण सार्वजनिक गरिएको छ।
पक्राउ परेका सबै १४ जनालाई फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।