काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको भीषण सवारी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
गत कात्तिक २६ गते बिहीबार बिहान काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको सरकारले जनाएको छ।
सरकारका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित समितिले प्रतिवेदन तयार गर्नेछ।
सरकारले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।