विद्यादेवी भण्डारी राजनीतिमा फर्किन खोजे देशलाई महँगो पर्न सक्छ:रामकुमारी झाँक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले देशको राजनीतिमा भइरहेको सत्ता गठबन्धनको हेरफेरलाई लोकतान्त्रिक प्रणालीको गम्भीर विकृति भन्दै चेतावनी दिएकी छन्। प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पटक–पटक सत्ता समीकरण फेरिए पनि अनुहार भने उही दोहोरिनु लोकतन्त्रको नै उपहास भएको टिप्पणी गरिन्।

पटक–पटक मान्छे फेरिने तर फेरिने मान्छे उही हुनु हाम्रो प्रणालीको असफलता हो, उनले भनिन्, लोकतन्त्रलाई चलायमान बनाउनुको साटो नेताहरु सत्ता बनाउने र भत्काउने खेलमा रमाइरहेका छन्।

झाँक्रीले हालको कांग्रेस–एमाले गठबन्धनलाई अनावश्यक रूपमा अस्थिर पार्न खोजिएकोप्रति असहमति जनाउँदै प्रश्न गरिन्, "माओवादी–कांग्रेस, माओवादी–एमाले पनि भएन भनियो, अब एमाले–कांग्रेस पनि भएन भने सरकार चलाउने जिम्मा कसले लिने?" उनले संविधान संशोधन बिना स्थायी सरकारको सपना देख्नै नमिल्ने स्पष्ट गरिन्।

उनले वर्तमान मिश्रित निर्वाचन प्रणाली अन्तर्गत कुनैपनि दललाई बहुमत आउन नसक्ने यथार्थ स्वीकार गर्दै साना विषयलाई लिएर सरकार बदल्ने मानसिकता त्याग्न आग्रह गरिन्। “आईजीपी, डीआईजी नियुक्तिमा झगडा गरेर सरकार भत्काउने अवस्था आयो भने लोकतन्त्र सस्तो बजारको सौदा बन्नेछ,” झाँक्रीले चेतावनी दिइन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनप्रति पनि उनले गम्भीर असहमति जनाउँदै भनिन्, "गणतन्त्रको संरचना बनाउने व्यक्तिले नै त्यसको महिमा जोगाउनुपर्छ। गणतन्त्रको मूल्य यति सस्तो पे ब्याकमा किन बेचिनु हुँदैन।"

झाँक्रीले दलभन्दा बढी दलभित्रका केही व्यक्ति लोकतान्त्रिक संस्थामाथि प्रश्न उठ्नेजस्तो व्यवहार गरिरहेको आरोप लगाइन्। राष्ट्र बैंकजस्ता संवैधानिक संस्थामा योग्य र अनुभवी व्यक्तिलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै उनले राजनीतिक भागबण्डाले राज्य संयन्त्र कमजोर हुने चेतावनी दिइन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।