नागढुङ्गा चेकपोस्टमा ब्राउन सुगर बरामद, दुई भारतीय फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार १३

कैलाश माझी : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टमा प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारी निवासी ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोसलाई पक्राउ गरिएको हो।

नियमित चेकजाँचका क्रममा उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्दा लुकाइछिपाइ ल्याइएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने करिब ७५ ग्राम गिलो पदार्थ बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंले लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रहरीले लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रण गर्न सीमा नाका तथा राजधानी प्रवेश गर्ने प्रमुख चेकपोस्टहरूमा निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।