विराटनगर, असार १३
कैलाश माझी : मोरङ कारागारमा रहेका कैदीबन्दीलाई अनुचित प्रभावमा पारी अवैध रूपमा रकम असुली गर्दै आएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार शुक्रबार (असार १३ गते) बिहान करिब १०ः५० बजे प्राप्त विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी विराटनगर महानगरपालिका–८ निवासी ४८ वर्षीय अभिषेक गिरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गिरीले मोरङ कारागारमा रहेका कैदीबन्दीलाई आफ्नो प्रभावमा पारेर विभिन्न बहानामा अवैध रकम असुली गर्ने गरेको भन्ने सूचनापछि उनको घरमा कानुनबमोजिम रीतपूर्वक खानतलासी गरिएको थियो। खानतलासीपछि उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप तथ्य, प्रमाण तथा सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ।
प्रहरीले कारागारभित्र हुने कुनै पनि प्रकारका अवैध गतिविधि, आर्थिक चलखेल तथा अनुचित प्रभावका घटनाप्रति आफू गम्भीर रहेको जनाउँदै यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।