ठगी तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी सप्तरीमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा फरार एक प्रतिवादी सप्तरी प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, नेपाल सरकार वादी र नवज्योत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरसिंह यादव लगायत प्रतिवादीविरुद्ध दर्ता भएको उक्त मुद्दामा पक्राउ अनुमति अदालतबाट मिति २०८१ साल मंसिर ७ गते नै प्रदान भएको थियो।


सोही क्रममा फरार रहेका प्रतिवादीहरूमध्ये रुपनी गाउँपालिका–४ की ३३ वर्षीया लक्ष्मी कुमारी यादवलाई प्रहरीले मिति २०८२ साल असोज २९ गते राजविराज नगरपालिका–८ मा रहेको नवज्योत बचत तथा ऋण सहकारी संस्थाको अगाडिको सार्वजनिक सडकबाट फेला पारी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहका अनुसार पक्राउ परेकी यादवलाई अदालतमा पेस गरिएको र अदालतले म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिइएको छ।


सप्तरी जिल्ला अदालतको आदेश अनुसार अहिले उक्त प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।