तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१० कार्तिक 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व साहित्यिक सम्मेलनले मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन मद्दत गरेको बताउनुभएको छ । विश्व नेपाली साहित्य महासङ्घद्वारा आज आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो । 
काठमाडौँको गौशला स्थित होटल आनन्द पशुपतिमा भएको साहित्यिक विश्व सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान गर्नुभयो । सम्मेलनमा एकैसाथ १४ वटा पुस्तकहरूको लोकार्पण गरिएको छ । त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मान पनि गरिएको छ। ‘नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान’  भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रतिष्ठानहरूका प्रतिनिधिहरु, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू एवम् समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरूको उपस्थिती रहेका थियो । महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले विश्वका विभिन्न देशको सहभागिता रहेको बताउनुभयो । 
सम्मेलनको दोस्रो सत्रमा प्रा.डा. गोविन्दराज भट्टराई र  प्रा.डा. देवेन सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको छ । यस्तै चौथो सत्र अर्थात बन्द सत्र भने  ११ गते आईतबार बिहान सात बजे हुने अध्यक्ष लिम्बूले बताउनुभयो । यो सत्रमा महासङ्घ परिवारको मात्रै सहभागिता रहने उहाँले जानकारी दिनुभयो । यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूको बारेमा रिपोर्टिङ हुनेछ । पाँचौसत्र खाजापछि साढे आठमा सुरु हुनेछ । यो सत्रको प्रमुखता पनि केही मन्तव्य र सृजना प्रस्तुति नै रहनेछ । सोही दिन विदेशी पाहुनाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलसँग साक्षात्कार गराइने कार्यक्रम रहेको छ भने १२ गते बिहान अतिथिहरूको बिदाइ हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा लोकार्पण गरिएका पुस्तकहरुमा विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन ‘साहित्य संसार साहित्यिक वार्षिक’, नेपाल शाखाको मुखपत्र ‘नेपाल दर्पण’, लुम्बिनी प्रदेशको मुखपत्र ‘लुम्बिनी दर्पण’, कर्णाली प्रदेशको मुखपत्र ‘कर्णाली दर्पण’, विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कवितासङ्ग्रह ‘बुद्धको देशमा’, प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति ‘कल्पध्वनी’, प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबी पौडेलको ‘मेरो कथा’, विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति ‘काव्यप्रेक्षण’, विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति ‘बाँकेका नारी स्रष्टा र सिर्जना’, प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति ‘इन्दु’, कल्पना फाउन्डेशनको ‘कल्पाङ्कुर’, विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कवितासङ्ग्रह ‘धूप–छांव’, शिखरकवि शैलेन्द्र साकारको ‘साकार समय’ र ‘मनको कुनै कुना’ छन् ।
त्यसैगरी पुरस्कृत हुने स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्या कवितातर्फ किशन पौडेल (हेटौँडा) प्रथम, समीप बैरागी (रोल्पा) द्वितीय र भारती न्यौपाने (काठमाडौँ) तृतीय रहनु भएको छ । प्रथम पौडेललाई १५ हजार, द्वितीय बैरागीलाई १० हजार र तृतीय न्यौपानेले ५ हजार रुपैयाँ र प्रमाणपत्र को व्यास्था गरिएको छ ।
सम्मेलनमा ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा ८ साहित्यदूत सम्मानको व्यवस्था गरिएको छ ।
१. साहित्यदूत सगरमाथा– प्रा.डा. गङ्गाप्रसाद प्रसाईं कुलपति त्रिपुरा विश्वविद्यालय, भारत
२. साहित्यदूत कन्चनजंघा– प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ
३. साहित्यदूत ल्होत्से– डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्ली
४. साहित्यदूत मकालु– प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्वविभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग
५. साहित्यदूत चोयु– प्राध्यापक भारती लिम्बू, थाइल्याण्ड
६. साहित्यदूत धौलागिरि– शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ
७. साहित्यदूत मनास्लु– श्री विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा–प्रतिष्ठान, स्याङ्जा
८. साहित्यदूत अन्नपूर्ण– श्री इच्छाराम गुरागाईं, वर्मा
विनेसाम सद्भावना सम्मान–
भारतीय नागरिकहरू–
१. पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार)
२. डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार)
३. डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार)
चिनियाँ नागरिकहरू–
१. प्रा.डा. वाङ् जोङ् (प्रमुख, दक्षिण एसिया भाषा विभाग युनान् विश्वविद्यालय, कुनमिङ्, चीन)
२. प्रा.डा. छिङ् युन् (निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय बेइजिङ, चीन)
३. श्री झाङ् युई (प्रमुख, सीसीटिभी ब्युरो अफिस)
जापानिज नागरिक–
१. श्री युको ओकामोता, (वाको विश्वविद्यालय, टोकियो जापान)
बंगलादेशी नागरिक–
१. श्री सुल्तान अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य)
विनेसाम, अरनिको सम्मान
१. श्री चेतनाथ आचार्य, चीन)
विनेसाम उत्कृष्ट सदस्य
१. श्री कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज
विनेसाम, नेपाल शाखाको उत्कृष्ट प्रदेश
१. लुम्बिनी प्रदेश

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।