स्वास्थ्य सेवामा गुणस्तर र विश्वास अपरिहार्य : कञ्चनरुपमा पारा–मेडिकल अन्तरक्रिया सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित न्यू फेमेली रिसोर्ट एन्ड सेकुवा कर्नरमा आर्या फर्माल्याब प्रा.लि. को आयोजनामा पारा–मेडिकल सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य सेवा, औषधिको गुणस्तर र जिम्मेवार व्यवसायका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्याशी भोला पासवान ले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन गुणस्तरीय औषधि र विश्वसनीय सेवाको आवश्यकता औंल्याए। उनले स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायहरू अझ जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका म्यानेजिङ डाइरेक्टर विकास बराल ले कम्पनीका गतिविधि, उत्पादन प्रणाली, बजार विस्तार रणनीति तथा आगामी योजनाबारे प्रस्तुती दिएका थिए। उनले यस्ता अन्तरक्रिया कार्यक्रमहरूले कम्पनी र सरोकारवालाबीच सहकार्य बढाउने, विश्वास निर्माण गर्ने तथा सुधारका लागि सुझाव संकलन गर्ने अवसर प्रदान गर्ने बताए। उनका अनुसार नेपालमा सञ्चालनमा रहेका ६९ औषधि उद्योगमध्ये आर्या फर्माल्याब पाँचौं स्थानमा रहेको छ।

स्वागत मन्तव्य राख्दै कञ्चनरुप व्यापार संघका सचिव शशी साह ले स्वास्थ्य क्षेत्रका विभिन्न पक्षबीच समन्वय र अनुभव आदान–प्रदानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। औषधि व्यवसायी संघ सप्तरीका अध्यक्ष राजकुमार साह ले पनि यस्ता कार्यक्रम नियमित रूपमा आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा थप सुधारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने सुझाव दिए।

कम्पनीले आफ्ना उत्पादनहरू “स्पार्कल” र “इनभिजन” विभागमार्फत बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। स्पार्कल अन्तर्गत सामान्य रोगहरू जस्तै ज्वरो, एलर्जी, खोकी तथा दुखाइका औषधिहरू समावेश छन् भने इनभिजन अन्तर्गत छाला, पेट तथा विभिन्न संक्रमणसम्बन्धी औषधिहरू उत्पादन गरिँदै आएका छन्। यी औषधिहरू बालबालिका र वयस्क दुवैका लागि लक्षित गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार गुणस्तरीय र सुलभ मूल्यका औषधि उपलब्ध गराउँदै आएको छ भने चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्न

आग्रह गरिएको छ।
कार्यक्रममा एरिया म्यानेजर दिलिप पटेल, सुदामा फार्मेसीका सञ्चालक राजु प्रसाद गुप्ता, पत्रकार अनिल पोखरेल लगायत औषधि व्यवसायी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता रामचन्द्र साह ले गरेका थिए भने सञ्चालन चित्रंजन यादव ले गरेका थिए। अन्त्यमा कुबेर फार्मेसीका सञ्चालक सागर साह ले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच सहकार्य अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।