स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना सर्लाहीमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही, असार १८ 

कैलाश माझी : सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा नगद रकम बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र सोही स्थानका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेका थिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार दरका २ हजार ५ सय थान नोट बराबर २५ लाख रुपैयाँ, ५ सय दरका १ हजार ३ सय थान नोट बराबर ६ लाख ५० हजार रुपैयाँ तथा १ सय दरका ५ सय थान नोट बराबर ५० हजार रुपैयाँ गरी जम्मा ३२ लाख रुपैयाँ बरामद गरिएको छ।

बरामद गरिएको नगद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त रकमको स्रोत, प्रयोग तथा सम्भावित अवैध कारोबारसँग सम्बन्धित पक्षबारे अनुसन्धान अघि बढाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।