"सप्तरीको भगनीमा भव्य कलश यात्रासहित विजयादशमीको सुरुवात"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तकोशी : आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन काठमाडौंको हनुमान ढोकास्थित दसैं घरदेखि देशभरका घर–घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा राखिएको छ।

यसै अवसरमा सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १०, भगनीस्थित ऐतिहासिक दुर्गा मन्दिरबाट भव्य कलश यात्रा निकालिएको छ।

सयौँ भक्तजन बाजागाजासहित सहभागी भएको कलश यात्रा मन्दिर प्राङ्गणबाट निस्किएर वडाका विभिन्न टोल परिक्रमा गर्दै स्थानीय कमल दहम पुग्यो। त्यहाँ जल भरी पुनः दुर्गा मन्दिरमा कलश स्थापना गरिएको छ।

दुर्गा पूजा समितिका अध्यक्ष सिताराम यादवका अनुसार, कलश यात्रा सामुदायिक एकता र आस्थाको प्रतीक हो।”
धार्मिक परम्परा अनुसार घट कलशमै सम्पूर्ण देवी–देवता, सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी नाला र तीर्थहरूको वास रहने विश्वास छ।

कालिका पुराणमा समेत यसको उल्लेख गरिएको छ। मन्दिरका पुजारी ब्राह्मण जोगेन्द्र झाका अनुसार, “घट पूजाले घरपरिवारमा सुख, शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहँदै आएको छ।

आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा चल्नेछ भने दशौं दिन अर्थात् विजयादशमी, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइनेछ।
यसरी घटस्थापनासँगै सुरु भएको नवरात्र पर्वले आस्था, संस्कार र एकताको सन्देश दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।