सप्तकोशीमा दुःखद घटना : साथीहरूसँग नुहाउन गएका बालकको डुबेर मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, असोज ११ ।
कैलाश माझी : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–१० गंगाजलि चन्द्र नहरमा शनिबार दिउँसो एक बालकको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा भएको यो दुःखद घटनाले अभिभावक र स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

प्रहरीका अनुसार सो नगरपालिकाका १२ वर्षीय बिशाल सदा आफ्ना साथीहरूसँग दिउँसो करिब १ः३० बजेतिर नहरमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी अचानक बेपत्ता भए। साथीहरूले तत्काल खबर गरेपछि दिउँसो करिब २ बजेतिर प्रहरी चौकी फत्तेपुरमा सूचना पुगेको थियो।

सूचना पाएलगत्तै प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास कार्य थालेका थिए। करिब २ः२५ बजेतिर घटनास्थलबाट ५०० मिटर दक्षिणतर्फ बिशाललाई नहरमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

यस घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। नाबालकको असामयिक निधनले परिवार शोकसन्तप्त बनेको छ भने गाउँलेहरू पनि स्तब्ध बनेका छन्।

ईलाका प्रहरीको आग्रह

नहर, खोलानाला र तालतलैयामा बालबालिका अभिभावकको निगरानी बिना नुहाउन वा खेल्न जानु निकै खतरनाक हुने भएकाले सतर्क रहन प्रहरी र स्थानीय प्रशासनले अनुरोध गरेका छन्। प्रत्येक वर्ष यस्ता घटनामा कैयौं बालबालिकाले ज्यान गुमाउँदै आएकाले समयमै चेतना र सावधानी अपनाउनु जरुरी रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।