सप्तकोशी–२ स्थित गोबर्द्धन बैरागी जनता माविलाई सिटिजन्स बैंकद्वारा १० थान सिलिङ फ्यान सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड फत्तेपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सप्तकोशी नगरपालिका–२ स्थित गोबर्द्धन बैरागी जनता माध्यमिक विद्यालयलाई १० थान सिलिङ फ्यान सहयोग गरेको छ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक हरि बहादुर खत्रीले विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेललाई उक्त सिलिङ फ्यान हस्तान्तरण गरेका हुन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गर्मीयाममा सहज र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले फ्यान सहयोग गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक खत्रीले बैंकले वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए। शिक्षा क्षेत्रको विकासमा टेवा पुर्‍याउने तथा विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयलाई फ्यान सहयोग गरिएको उनको भनाइ थियो। उनले आगामी दिनहरूमा पनि बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

फ्यान ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेलले सिटिजन्स बैंक इन्टरनेशनलप्रति आभार व्यक्त गर्दै विद्यालयको आवश्यकता पहिचान गरी गरिएको सहयोग अत्यन्तै उपयोगी रहेको बताए। उनले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई यस सहयोगबाट प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता कार्यक्रमले सामुदायिक विद्यालयहरूको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रबन्धक हरि बहादुर खत्री, मेघा मिश्रा, सनम रौनियार, प्रमित कुमार मण्डल, ब्रह्मदेव यादव तथा संजिव कुमार मण्डलको उपस्थिति रहेको थियो।

त्यसैगरी विद्यालयको तर्फबाट प्रधानाध्यापक चिरञ्जीवी पौडेल, विभिन्न शिक्षक-शिक्षिकाहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य निर्मल कुमार बस्नेत तथा भोजकुमारी फुयाल सहभागी भएका थिए।

कार्यक्रममा सप्तकोशी नगरपालिका–२ का वडा सदस्य रविन्द्रनाथ चौधरी, रामसती राम तथा पानो कुमारी राजधामी को समेत उपस्थिति रहेको थियो। उपस्थित जनप्रतिनिधिहरूले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले निजी क्षेत्र र सामुदायिक विद्यालयबीच सहकार्यको वातावरण बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।

सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयलाई प्रदान गरिएको १० थान सिलिङ फ्यानले विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउनुका साथै विद्यालयको भौतिक वातावरण सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।