सिराहामा प्रहरीमाथि आक्रमण गरेपछि गोली चल्यो, २४३ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिराहा,साउन ७।

कैलाश माझी : सिराहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट प्रहरीले २४३ ग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री वितरण गर्ने समूहको निगरानी गर्ने क्रममा २०८३ साल साउन ७ गते लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा ६ जनालाई फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको थियो। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाई फायर गरी चेतावनी दिएको तर चेतावनीलाई समेत अटेर गरेपछि प्रहरी टोलीले गोली चलाएको जनाएको छ।

गोली लागेर पक्राउ परेका भारत बिहारका २२ वर्षीय विद्यानन्द यादवको बायाँ खुट्टा र सप्तरी रुपनी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद नसिरको दाहिने खुट्टामा एक–एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा लगिएको थियो।

पक्राउ पर्नेमा भारत बिहारका विद्यानन्द यादवसहित सप्तरी रुपनी गाउँपालिका–१ का मोहम्मद नसिर, बोदेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव र २४ वर्षीय बैधनाथप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम र ३२ वर्षीय मोहम्मद इमामुदिन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, स.३ प ८१८५ र प्र.१–१ प ८०५ नम्बरका दुई थान मोटरसाइकल तथा ७ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

गोली लागेका दुई जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ भने अन्य चार जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान, सिराहामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।