बालिका बलात्कार आरोपमा क्याफे सञ्चालकसहित ५ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ,साउन ११।

कैलाश माझी : मोरङमा एक बालिकालाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका–३ आमतोलाका १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह, रंगेली नगरपालिका–७ जरबी टोलका २० वर्षीय करण मण्डल, रंगेली–७ का १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्।

प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक मोहम्मद अरमानले ललाइफकाई तथा विभिन्न प्रलोभनमा पारी रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेको र त्यहाँ जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि उक्त क्याफेका सञ्चालक सुमन कुमार साहले समेत बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।

त्यसैगरी, साउन ४ गते राति करिब ९ बजे पीडित बालिकालाई करण मण्डलले पुनः रंगेली नगरपालिका–७ स्थित संसारी मन्दिर नजिक रहेको द ९०'s क्याफेमा लगेको र त्यहाँ प्रियान्सु साह तथा रितिक यादवसमेतले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो।

उजुरीपछि साउन १० गते दिउँसो ४ बजेर १० मिनेटमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोप लागेका पाँचै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने पीडित बालिकाको पहिचान गोप्य राखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।