काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको व्यवहारलाई लिएर विवाद उत्पन्न भएको छ। विद्यालयका हेडमास्टरलाई आफूलाई स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको हो।
नेपालप्रेस अनलाइनले सार्वजनिक गरेको उक्त भिडियोमा सांसद पोखरेलले विद्यालयका हेडमास्टरलाई लक्षित गर्दै आक्रोश व्यक्त गरेको सुनिन्छ। भिडियोमा उनले “एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने? माननीय बाहिर बसिरहेको छ, तपाईं ननिस्किने? माननीय आएपछि रिसिभ गर्न आउनुपर्छ। यो जिल्लाको एक नम्बर माननीय हो,” भनेका छन्।
त्यसैगरी उनले “तपाईंहरू जस्ता हेडमास्टर त मैले देशभर चलाएको छु” भन्ने अभिव्यक्ति पनि दिएका छन्, जसले थप विवाद सिर्जना गरेको छ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा जनप्रतिनिधिको व्यवहारमाथि प्रश्न उठाइएको छ। धेरैले पदका आधारमा सम्मान माग्नु भन्दा जनताको मन जित्ने आचरण देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
रास्वपाभित्र समेत यस घटनालाई लिएर असन्तुष्टि सुनिन थालेको बताइएको छ। कतिपयले यस्ता गतिविधिले पार्टीको सार्वजनिक छविमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन्।
सांसद पोखरेलको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा जनप्रतिनिधिको जिम्मेवारी, विनम्रता र सार्वजनिक व्यवहारबारे बहस सुरु भएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।