राजविराज बजारमा शंकास्पद गतिविधि, नौ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी — जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज बजार क्षेत्रमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका नौ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२ साल पुस १० गते राजविराज नगरपालिका क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा प्रारम्भिक अनुसन्धान गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू रोहिङ्ग्या समुदायसँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिएको थियो। सोधपुछका क्रममा उनीहरू भारतको पश्चिम बंगाल घर भई हाल सप्तरीको राजविराज नगरपालिका–१२ स्थित गरिमा ईटा उद्योग प्राइभेट लिमिटेडमा काम गर्ने कामदार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

अनुसन्धानपछि ईटा उद्योगका संचालक राजेन्द्र प्रसाद भट्टराईलाई आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई परिचय खुल्ने कागजातहरू जाँच गरिएको र त्यसपछि सम्बन्धित व्यक्तिहरूलाई संचालकको जिम्मा लगाई बुझाइ पठाइएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा परेका व्यक्तिहरू यस प्रकार छन्—

५२ वर्षीय लातिफर मियाँ
३५ वर्षीय इकरामुल मियाँ
४५ वर्षीय सिराजुल मियाँ
३१ वर्षीय असरफुल मियाँ
४० वर्षीय जयानाल मियाँ
३७ वर्षीय इजाजुल मियाँ
२३ वर्षीय सहाजहान मियाँ
३१ वर्षीय राहुल मियाँ
(सबै भारत, पश्चिम बंगाल निवासी)

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता डम्बर बहादुर पुरीद्वारा जारी विज्ञप्तिमा सीमावर्ती क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै शंकास्पद गतिविधि देखिएमा प्रहरीले निगरानी तथा आवश्यक अनुसन्धानलाई निरन्तरता दिने स्पष्ट पारिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।