प्रसाहा सामुदायिक वनमा रुखबाट लडी वृद्धको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तरी - सप्तरी सप्तकोशी नगरपालिका–२ प्रसाहा स्थित सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट लडी एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति सोही स्थानका करिब ६२ वर्षका प्रशुराम फुयाल रहेका छन्। फुयाल बिहिवार बिहान करिब ७ बजे घरबाट करिब डेढ किलोमिटर पश्चिमतर्फ अवस्थित प्रसाहा सामुदायिक वनमा घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा कर्माको रुखको हाँगा भाँचिँदा उनी सन्तुलन गुमाई रुखबाट तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा बाख्रा चराउन गएका स्थानीयवासीहरूले शव देखेपछि दिउँसो करिब ४ बजे प्रहरी चौकी फत्तेपुरमा जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिएको र घटनास्थल सुरक्षित गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको फत्तेपुर प्रहरीले जनाएको छ।

त्यसपछि थप अनुसन्धान र मुचुल्का कार्यका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा फरेन्सिक (SOCO) टोली समेत पुगेको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।