पाँच लाख घुस लिँदै गर्दा लहानका कर अधिकृत युवराज एम.एस. पाल अख्तियारको फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिराहा,साउन ७।

कैलाश माझी : सिराहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एस. पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस/रिसवतसहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजातहरू नमिलेको भन्दै कर अधिकृत पालले सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको र काम मिलाइदिने भन्दै घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरी आयोगमा परेको थियो।

उक्त सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कर अधिकृत पालमाथि निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा कर अधिकृत पालले सेवाग्राहीबाट घुसबापतको रकम लिएको पुष्टि भएपछि आयोगको टोलीले उनलाई २०८३ साल साउन ७ गते नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिने क्रममा आयोगको टोलीले घुसबापत लिइएको पाँच लाख रुपैयाँ नगद र एक थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

सेवाग्राहीले करसम्बन्धी कामका लागि पेस गरेका कागजात नमिलेको भन्दै कर अधिकृतले दुःख–हैरानी दिने र घुस माग्ने गरेको आरोपमा आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले गरेको अनुसन्धान तथा कारबाहीका क्रममा घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई कानुनबमोजिम सेवा प्रदान गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारीले काम मिलाइदिने नाममा घुस मागेको आरोपमा नियन्त्रणमा परेका हुन्। अख्तियारले भ्रष्टाचार तथा घुसखोरीविरुद्धको कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

नियन्त्रणमा लिइएका कर अधिकृत पालमाथि घुस/रिसवतसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अनुसन्धानबाट प्राप्त प्रमाण तथा तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा २०८३ साल साउन ७ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत कर अधिकृत पाललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी सार्वजनिक गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।