बसको ठक्करबाट ७५ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु, चालक हेमबहादुर आले मगर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी ८ ।

कैलाश माझी : सप्तरीमा साइकलमा सवार एक वृद्धलाई ठक्कर दिएर फरार भएको आरोपमा प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा, निजगढ नगरपालिका–९ बस्ने ३५ वर्षीय हेमबहादुर आले मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३/०४/०७ गते साँझ करिब ७ः४० बजेको समयमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–००३ ख ९८८४ नम्बरको डायमण्ड बसले साइकलमा सवार शम्भुनाथ नगरपालिका–८ बस्ने ७५ वर्षीय रामप्रसाद पण्डितलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक बससहित घटनास्थलबाट फरार भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले चालकको खोजी तीव्र बनाएको थियो।

इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीका प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही दिन राति करिब ८ः५३ बजेको समयमा सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा उक्त बस फेला पारेको थियो।

प्रहरीले बा.प्र.०१–००३ ख ९८८४ नम्बरको डायमण्ड बसका चालक हेमबहादुर आले मगरलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। तत्काल पक्राउ नगर्दा भागी फरार हुनसक्ने अवस्था रहेको भन्दै प्रहरीले जरुरी पक्राउ पुर्जी दिई उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेका चालक आले मगरलाई मिति २०८३/०४/०८ गते सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट मिति २०८३/०४/०७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी सवारी ज्यान मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनाको कारण, चालकको लापरबाही तथा घटनापछि बस लिएर फरार हुनुको अवस्थालगायतका विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

सवारी दुर्घटनाबाट वृद्धको मृत्यु भएपछि स्थानीय क्षेत्रमा समेत चिन्ता र आक्रोश देखिएको छ। पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन तथा चालकको लापरबाहीका कारण दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले सवारी साधन सञ्चालनमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका चालकविरुद्ध प्रचलित कानुनबमोजिम सवारी ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।