धनुषा,साउन ८।
कैलाश माझी : धनुषामा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला ठेगाना भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतबाट नेपालमा लागुऔषध बिक्री वितरण गर्ने व्यक्तिहरूको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मिति २०८३/०४/०८ गते धनुषाको मिथिला नगरपालिका–६ मा खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा प्रहरीले दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेको बताइएको छ।
प्रहरीले भागिरहेका उनीहरूलाई रोक्न चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनसँगै दुई थान मोबाइल फोन, एक थान भारतीय आधार कार्ड र एक थान भारतीय सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै लागुऔषधको कारोबार तथा ओसारपसार हुने गरेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धानलाई तीव्र बनाइएको छ। सोही क्रममा भारतबाट नेपालमा लागुऔषध बिक्री वितरण गर्ने समूहको निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेको जनाइएको छ।
प्रहरीले लागुऔषध कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्र तथा सम्भावित कारोबार हुने स्थानमा निगरानी बढाउँदै आएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि बरामद लागुऔषधको स्रोत, कारोबारको उद्देश्य तथा उनीहरू संलग्न रहेको सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीको विवरण सार्वजनिक गरिएको छ।
प्रहरीले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनबमोजिम थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।