मनाङ, जेठ ३० |
भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै एक सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उक्त सूचनापछि अख्तियारको कार्यालय, पोखराबाट खटिएको टोलीले निगरानी तथा आवश्यक अनुसन्धान गरेको थियो। सो क्रममा कण्डेलले सेवाग्राहीबाट घुसस्वरूप रु. ४० हजार लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
पक्राउका बेला उनको साथबाट घुस रकमबाहेक श्रोत नखुलेको रु. २१ हजार ७० रुपैयाँ समेत फेला परेको अख्तियारले जनाएको छ। यसरी उनीसँग कुल रु. ६१ हजार ७० रुपैयाँ बरामद भएको छ।
अख्तियारले मिति २०८३ जेठ ३० गते कण्डेललाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
सरकारी सेवा प्रवाहसँग प्रत्यक्ष सम्बन्धित कार्यालयका कर्मचारी नै सेवाग्राहीसँग घुस माग्दै पक्राउ पर्नु सार्वजनिक प्रशासनभित्र अझै पनि भ्रष्टाचारको जरो गहिरो रहेको संकेतका रूपमा हेरिएको छ। अख्तियारले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।