मधेश प्रदेशमा प्रेस स्वतन्त्रता र पत्रकारिता सुदृढीकरणका लागि ७ बुँदे घोषणापत्र जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कैलाश माझी : नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको पाँचौं साधारणसभा महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा सम्पन्न भएको छ।

साधारणसभाले पत्रकारिता, प्रेस स्वतन्त्रता, संघीयता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न समसामयिक विषयलाई समेट्दै ७ बुँदे घोषणापत्र जारी गरेको छ।

घोषणापत्रमा संघीय सरकारले परिपत्रमार्फत प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै त्यसलाई संघीयताको मर्म र संविधानविपरीत भएको उल्लेख गरिएको छ। यस्ता कदमविरुद्ध प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै प्रतिकार गर्न अपिल गरिएको छ।

त्यस्तै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने संघीय सरकारको परिपत्रलाई प्रेसविरोधी कदमको संज्ञा दिँदै उक्त निर्णय तत्काल खारेज गराउन निरन्तर दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

महासंघले मधेश प्रदेश सरकारसँग सहकार्य गरी प्रदेश समिति तथा आठवटै जिल्ला शाखाको संस्थागत सुदृढीकरण, पत्रकारको क्षमता अभिवृद्धि र पत्रकारिता हितका कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ। साथै प्रदेश तथा स्थानीय तहलाई प्रेसमैत्री बनाउन आवश्यक नीति, कानुन तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका लागि सहकार्य गर्ने निर्णय पनि गरिएको छ।

घोषणापत्रमा पत्रकारिता आचारसंहिताविपरीत हुने गतिविधिको जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने स्पष्ट पारिएको छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रेस काउन्सिल नेपाल वा अन्य सम्बन्धित निकायमा उजुरी परेपछि हुने कारबाहीमा महासंघले हस्तक्षेप नगर्ने उल्लेख गरिएको छ।

सामाजिक सञ्जालमा गरिएका व्यक्तिगत अभिव्यक्तिलाई पत्रकारितासँग जोडेर गलत भाष्य निर्माण गर्ने प्रवृत्तिविरुद्ध सचेतना अभियान सञ्चालन गरिने तथा पत्रकारिताको नाममा हुने अनैतिक, गैरकानुनी र पेशाविपरीत गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने घोषणापत्रमा उल्लेख छ।

साथै विभिन्न जालझेलमार्फत पत्रकारहरूलाई फसाउने प्रयास तथा अनावश्यक कारबाहीको विरोध गर्दै त्यसविरुद्ध संघर्ष जारी राख्ने प्रतिबद्धता पनि महासंघले जनाएको छ।

महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी घोषणापत्रमा पाँचौं साधारणसभा सफल बनाउन योगदान पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, केन्द्रदेखि जिल्लासम्मका पदाधिकारी, सदस्य, सल्लाहकार, प्रतिनिधि तथा सहभागीप्रति आभार व्यक्त गरिएको छ।

महासंघले सम्पूर्ण पत्रकारहरूलाई संघीयता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैं अडिग रहन आग्रह गर्दै साधारणसभा सम्पन्न भएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।